वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौं

पूर्व विद्यार्थी समाज, वीरेन्द्र मा. वि. चन्द्रगढी, झापा

स्मृतिमा मेरो विद्यालय - विश्वराज रेग्मी

Published on: Jestha 31 2081
Views
113
Share
म सप्तरी जिल्लाको बरमझिया भन्ने ठाउँमा जन्मेको भए पनि हुर्काइ भने खोटाङ जिल्लाको खुट्टा भन्ने ठाउँ भएको हो । त्यही अवस्थामा मलाई झापा जिल्लाको धुलाबारीमा ल्याएर माइली दिदी (फूपू) कहाँ बुबाले राखिदिनु भयो । वहाँसँगै बसी सावाँ अक्षर पढ्दा पढ्दै दिदी सनिघट्टा सर्नु भएपछि म ठूली आमाकहाँ (धुलावारीमै) बसें । त्यसपछि म ठूली आमाको छोरी बहिनी लता भट्टराईसँग धुलावारी स्कुलमा पढ्न थालेँ । त्यहीँ पढ्दैगर्दा मलेरीया (ज्वरो) भएर तीन महिना थलापरेँ । मेरो परिवार पुनः सतिघट्टाबाट चन्द्रगढी बसाई स¥यो । यही नै कडी बन्न पुग्यो र वीरेन्द्र मा.वि.को छात्र बन्ने ।
 
 हालको जि.वि.स.भवन उत्तर पट्टी रहेको गोदाम घरमा हाम्रो पढाइ हुन्थ्यो । घरबाट बोरा लिएर गएर त्यसैमा बसेर पढ्न थालियो । त्यहाँ एकजना वंगाली सर हुनुहुन्थ्यो । धेरै जसो हिन्दीमा नै पढाउने गर्नुहुन्थ्यो । पछि गोदाम घरबाट हालको वीरेन्द्र उ.मा.वि. भएको स्थानमा टीनको छानो भएको लामो घर तयार भएपछि हामी त्यहाँ पढ्न थाल्यौं । गर्मी होस् वा जाडो कुनै मतलब थिएन । गर्मीको बेलामा चौरको पूर्वपट्टी रहेको आँपको ठूलो बोटमुनि बसेर सरहरुले पढाउनु हुन्थ्यो । अरु बेला कोठामा नै । हामीलाई प्र.अ.श्री राधाकृष्ण ढकाल, शिक्षक श्री नन्द प्रसाद घिमिरे, श्री कृष्ण प्रसाद पौडेल, श्री हरि नेउपाने (बुधबारे) र श्री निल प्रसाद सरहरुले पढाउनु हुन्थ्यो । निल प्रसाद सरले त स्काउटको टागी पिरी खेलाउने समेत गर्नुहुन्थ्यो । प्र.अ. राधा सर असाध्यै कडा हुनुुहुन्थ्यो । एकपटक मैले के गल्ती गरेँ, बिर्सिएँ । तर वहाँको लामो हातको एक चड्कन खाएको चाहिँ संझना छ । छुट्टिको बेलामा जहाँ खेलेपनि धेरै पर राधा सरलाई देखियो भने हामी भाग्थ्यौँ । 
 स्कुल पढ्दा टिफिनमा खाजा खानको लागि हजुरबुबाले प्रत्येक दिन चना, चिउरा वा प्याजी, आलुचप जे खाए पनि १० पैसामा पसलमा ठेक्का लगाई दिनुभएको थियो । म चिउरा नै खान्थेँ धेरै हुन्थ्यो ।
 
 त्यसबेला चन्द्रगढी स्कूलमा कक्षा ५ सम्म मात्र पढाइ भएपनि हाम्रो पालादेखि ६ कक्षासम्म पनि पढाउन थालिएको थियो । तर केही महिनापछि जाँच दिन हामीलाई भद्रपुर स्थित शारदा बालिका विद्यालयमा पठाइयो । र हामी बालिका विद्यालयमा पढ्न थाल्यौं । त्यहाँ प्र.अ. श्रीमती प्रभा घिमिरे, शिक्षिका मायाँ देवान, शिक्षक श्री गोविन्द चन्द्र क्षेत्री समेत हुनुहुन्थ्यो । कक्षा ६ मा पढ्दा विद्यालयबाट घर फर्कनेक्रममा एकदिन शंभु ढकालसँग बाटामा झगडा भयो । भोलिपल्ट शंभुले मायाँ गुरु आमालाई कुरा लगाइ दिए । गुरु आमाले मलाई हत्केलामा ४ पटक फिटले हिर्काउनु भयो । त्यसपछि शंभुसँग म एक वर्ष बोलिनँ । त्यो घटना र अर्काे पल्ट घर फर्कने क्रममा बाटामानै रोहिणीराज कोइरालासँग झगडा हुँदा घरमा छिटो पुगेर टाटीमा आगो लगाइदिएको घटना अविस्मरणीय छन् । यसरी शारदा बालिका विद्यालयमा कक्षा ६ उत्र्तीण गरी हामी पुनः वीरेन्द्र मा.वि. चन्द्रगढीमा कक्षा ७ मा पढ्न फर्कियौँ । यसरी म वीरेन्द्र माविको पहिलो व्याजको विद्यार्थी मध्ये एक थिएँँ भन्दा अहिले गौरवान्वित समेत छु । कक्षा सातमा पढ्नेहरुमा म लगायत भानु निरौला, जनार्दन नेउपाने, मधु पोखरेल, शंभु ढकाल, भिमनिधि नेउपाने, रोहिणीराज कोइराला र लक्ष्मी निरौला थियौँ । यसमध्ये हाल रोहिणिराज कोइरालाको दुःखद निधन भैसकेको छ भने भानु निरौला, जनार्दन नेउपाने र मधु पोखरेल सरकारी सेवाको उप–सचिवबाट अवकास भै सकेका छन् । शंभु ढकाल मेची क्याम्पसमा प्राध्यापन गर्दैछन् । साथीहरु अग्रणी नै छन् ।
 
 हामीहरु त्यतिबेला धेरै जसो स्कुलमा भाले जुधाइ र कवड्डी खेल्थ्यौँ । त्यसबेला केही राजवंशी साथीहरु साइकलमा विद्यालय आउँथे । त्यस बेला साइकलमा स्कुल आउनु भनेको हाल कारमा आउनु बराबरी नै हो । भाले जुधाइमा भिमनिधि नेउपानेलाई हराउन कसैले सक्दैन थिए । एकदिन कवड्डी खेल्दा झेली ग¥यो भनेर मेरो रतन राजवंशीसँग लाप्पा प¥यो । उनले मलाई थिचेर राखे । मैले उसको टुप्पी समाती कान टोकिदिएँ र गुटुटु भागें । यो घटना सम्झँदा अहिले पनि हाँस उठेर आउँछ । हाल ती मित्र कहाँ छन् थाहा छैन । त्यस बाहेक गर्मीको बेला आँप चोरेर खान हुल बाँधेर विभिन्न बँगैचा जानु र अनेक थरिका केटाकेटीको अवस्था गरिने उपद्रोमा सरिक भइयो । मैले त अझ सात कक्षामा पढ्दा पढ्दै परीक्षा आउनु भन्दा १ महिना अघि घरबाट भागेर धरानतिर बरालिएर पढाइ बिगार्न पुगेें । र मसँगै पढ्ने साथीहरुको साथ छुट्न गयो ।
 
 एक दिन साँझ नाटक हुने भनेर छिट्टै घरबाट विद्यालय पुगियो । नाटक सुरु नहुँदासम्म कवड्डी खेल्दा झमक्कै साँझ परेका बेला भाग्ने क्रममा आरा चिर्न ठोकिएको किलोमा ठोक्किएर मेरो घँुडा फुस्किन गए । असैहृ पीडा भै दश दिन सुत्नु परेको घटना पनि मैले बिर्सेको छैन । 

 हामी पढ्दा पढ्दै डिल्ली प्रसाद भट्टराई हामीलाई अंग्रेजी र नेपाली पढाउन आउनु भयो । वहाँ पहिले शास्त्री सरका रुपमा प्रख्यात हुनु भयो । पछि फेरि हेड सरका रुपमा । 
 म कक्षा सातको पढाइ बिगारेर बरालिएको २ वर्षपछि दिउँसो जागिर खाँदै रात्री स्कूल भद्रपुरमा पढ्न थालेँ । जागिरका कारण पढाइ खस्कनु स्वभाविक नै थियो । त्यसै हुनाले दोस्रो जमर्काेमा प्रवेशिका परिक्षा उत्तीर्ण हुन सफल भएँ ।  तर २०३२ सालमा मेची क्याम्पसबाट प्रमाणपत्र तह उत्तीर्ण गरी सोही वीरेन्द्र मा.वि.मै अध्यापन गर्ने अवसर प्राप्त भयो । त्यसबेला प्र.अ. डिल्ली प्रसाद भट्टराई, सह प्र.अ. खडानन्द बाशिष्ठ, शिक्षकहरु श्री काली प्रसाद पोखरेल, हरि प्रसाद पौडेल, श्री खेमराज कोइराला, एल.वि.क्षेत्री, नव कुमारी खनाल, शान्ता प्रसाईं, बोधराज निरौला, दुर्गा घिमिरे, अच्यूत सापकोटा, सरस्वती सुवेदी, इन्दु ढुङ्गाना, छत्र प्र. अधिकारी, पदम दाहाल, प्रेम उपाध्याय– समेत हुनुहुन्थ्यो । सबै शिक्षकहरुसँग मेरो अत्यन्तै मेल थियो । 

 त्यसबेला विद्यालयले पढाइ बाहेक अतिरिक्त क्रियाकलापमा समेत फट्को मार्दै थियो । एक दिन प्र.अ. सरले मलाई वादविवाद कार्यक्रममा ४ जना विद्यार्थीलाई लिएर बुधबारे पठाउनु भयो । वादविवादमा त विद्यार्थीले जिते तर त्यहाँबाट पैदल हिँडेर आउनु पर्दा धेरै दुःख भएको घटना याद आइरहन्छ । एक वर्ष वीरेन्द्र मा.वि.मा अध्यापन गराएर म पुनः २०३३ सालदेखि मेची क्याम्पसमा डिप्लोमा अध्ययन गर्न थालेँ । २०३५ मा डिप्लोमा पनि उत्तीर्ण गरी पुनः २०३५ देखि वीरेन्द्र.मा.वि.मै अध्यापन गराउन थालेँ ।
 
 २०३६ सालमा तत्कालीन सरकारले शिक्षकलाई निकै दमन गर्यो । त्यसकोे विरोधमा देशव्यापी शिक्षक आन्दोलन हुँदा पूर्वाञ्चल स्तरीय ¥यालीमा विराटनगर गई भाग लिएँ । झापा जिल्ला स्तरीय शिक्षक संगठनको प्रथम सम्मेलनको उद्घाटन कार्यक्रममा राष्ट्रिय अध्यक्ष श्री बद्रिप्रसाद खतिवडालाई स्थानीय प्रशासनलाई थाहै नदिई विर्तामोडबाट ल्याएर सम्मेलन गराएको घटना चाखलाग्दो छ ।
 
 त्यतिखेर हामीले पढाएका विद्यार्थीहरु अहिले प्रगतिपथमा निकै अग्रस्थानमा पुगेको पाउँदा र भेट भएको बेलामा उनीहरु झ्याम्मिदा हृदय फुलेर आउँछ । उनीहरुको उन्नतीमा गर्व लाग्दछ ।
 तर २०३७ सालमा घटेको घटनाले मैंले झापा जिल्ला नै छोड्नु पर्ने स्थिति बन्यो । २०३७ सालमा जुट काण्डसँग जोडिएको किसान विद्रोहमा मेरो भाइ विनजयराज रेग्मी (वीरेन्द्र मा.वि. का नै ८ कक्षाका छात्र) लाई गोली लाग्यो । म उपचार गराउने क्रममा विराटनगर, काठमाडौँ हुँदै भारतको भेलोर पुगेँ । भाइको उपचार सकेर मैले काठमाडौँ बस्नु पर्ने भयो । त्यसपछि चन्द्रगढी, भद्रपुर र वीरेन्द्र माविका तस्विरहरु केवल स्मृतिमा मात्र रहन पुगे ।

अहिले मैले पढेको र पढाएको विद्यालयले स्वर्ण महोत्सव मनाउन लागेको सन्दर्भमा म तिनै पुराना स्मृतिमा डुबिरहेको छु । 

Any question?


Related posts

वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौं logo
Address
Kathmandu-7, Chabahil, Nepal
Phone
+977 9851009148
Email
alumnibirendra@gmail.com

About us

वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौँ वीरेन्द्र माध्यमिक विद्यालय, चन्द्रगढी, झापाका पूर्व विद्यार्थीहरुको संगठन हो । पूर्व विद्यार्थीहरु बीच समन्वय गरी एकता कायम गर्नु, एक आपसमा परस्पर हित प्रवद्र्धन गर्नु र वीरेन्द्र माविको व्यवस्थापन सँग सहकार्य गरी विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय सुधारमा सहयोग गर्नु यस एलुम्नाईका उद्देश्यहरु रहेका छन् । यी उद्देश्यहरु पुरा गर्न संस्थाले विविध कार्यहरु गर्दै आएको छ । वि सं २०५७ सालमा स्थापित यो संस्थाले २०७२ सालमा नेपाल सरकारको ऐन बमोजिम औपचारिक मान्यता पाएको छ । परिणामस्वरुप स्थापनाकालदेखि समय समयमा गर्दै आएका कार्यक्रमहरुले पछिल्लो समयमा स्थायित्व पाउँदै गएका छन् । साथै थप नयाँ कार्यक्रमहरुले पनि संस्थाभित्र प्रवेश पाएका छन् ।
Follow us

Subscribe us

Please enter your email address to get latest updates on our activities.


© 2024 | वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौं | All rights reserved
Powered by OIT