“ए जे पायो त्यहि नबोल, कस्ले भन्यो ? हो अरे भरखर अफिसमा खवर आएको ।”
“................होईन साच्चै हो ?”
यस्तै संवाद चलिरहेको थिथो कक्षाकोठाको बाहिर ४–५ जना साथिहरुको बिच सबैमा हो होईन के हो ? ले अन्योल बनाई रहेको थियो । म पनि यही भिडमा आईपुगे । हामी सबै एकअर्को बिच यो अन्यौेल लाई हटाउने असफल प्रयास गरिरहेका थियो । भरखर कक्षाको घण्टी लागेको समय थियो । सर –गुरु आमाहरु एउटा कक्षाबाट निस्कीएर अर्को कक्षामा पढाउन जाने तयारी गर्ने क्रममा अफिस तर्फ जादै हुनुहुन्थ्यो । बिच बाटोमा भेटिएका १–२ जना शिक्षक –शिक्षीका सँग हामीले यस बारेमा केहि जानकारी पो छ कि भन्ने तरिकाले उहाहरुलाई नियाल्यौ तर उहाहरु हामीले नियालेको देखेर सामान्य जिज्ञासा राख्दै के भयो ? भन्दै अगाडी बढनु भयो । सायद हामीले सुुनेको जस्तो वहाहरुको सुन्नु भएको थिएन यस बेला सम्म । हामी वहाहरुलाई पछ्याउदै स्कुलको अफिस कोठा तर्फ लाग्यौ । जसरी हामी अगाडी बढदै गयौं, हरेक कक्षा कोठाको बाहिर ४–५ जना विद्यार्थीहरु हामी जस्तै अन्यौल लाई चिर्ने प्रयास गरिरहेको पायौ, तर सबै असफल भै रहेको जस्तो लाग्दथियो ।यसै क्रममा हामीले परै बाट अफिस कोठा बाहिर निकै भिड भाड देख्यौ । सरहरु सँग हामीहरु पनि त्यतै लाग्यौ । अफिस कोठा सर –गुरुआमाहरुको भिडले भरिएको थियो । बाहिर झ्याल ढोका बाट चिहाएर हामी भित्रको कुरा कानी बुझ्ने प्रयास गरिरहेका थियौ । यसै बिच एक जना सरले बाहिर आएर भिड नगर सबै आ–आफ्नो कक्षामा जाओ भन्नु भयो । हामी केहि पछाडी स¥यौ तर कक्षामा गएनौं । अफिस कोठा भित्रको असामान्य अवस्थालाई देखेर हामीले सुनेको कुरा ‘हो रहेछ’ भन्ने अन्दाज यतिखेर सम्म हामीले गरिसकेका थियौ । त्यसै क्रममा म केहि वर्ष पछाडिको कुराहरु संझन थाले । एक दिन हाम्रो स्कुल विरेन्द्र मा.बि.मा हाजिरी जवाफ प्रतियोगिता भई रहेको थियो । सायद जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगिता थियो । प्रश्न सोध्ने उत्तर दिने क्रममा एउटा प्रश्नको कुनै टोलिले उत्तर दिन सकेन र त्यो प्रश्न अडियन्स मा गयो । अडियन्सको भिडबाट एउटा केटाले हात उठाएर उत्तर दियो । प्रश्न पढ्नेले ‘...ठिक’ भने लगतै पुरस्कार स्वरुप २ बटा चकलेट लिन स्टेजमा उक्त ठिटो लाई बोलाईयो । हल्का चुस्स दाह्रि पालेको एउटा ठिटो मुसुमुसु हास्दै स्टेजमा गएको हामीले देखौं । हामी धेरैले सायद पहिलो पल्ट उक्त ठिटोलाई देखेको थियौ । कुनै अडियन्स बाट १–२ प्रश्नको सहि जवाफ दिनु वहुत ठूलो कुरा थियो । त्यसबेला बडो गजब भयो ्र उक्त ठिटोले ६–७ बटा प्रश्नको उत्तर अडियन्सको रुपमा दिएर चकलेट जिते सगै सबैको नजरमा “क्विज हिरो” बन्यो चर्चा परिचर्चाको साथ । ‘‘........कलेजको केटो रे,.......फलानोको आफ्नै मान्छे रे,...........बजारको छेउमा बस्ने रे.......... ’’। केहि घण्टा भित्रै उक्त ठिटोको बारेमा धेरै कुरो सुन्ने र बुझ्ने मौका पायौं हामीले । केहि महिना पछि उक्त ठिटो हाम्रो स्कुलमा गणित र बिज्ञान पढाउने शिक्षकको रुपमा आएको थाहा पायौं । अब हामीले उक्त ठिटो लाई सर भन्न पाएको थियौ । हामी लाई पढाउन थाले सगैं १–२ महिना भित्रै उक्त सरको पढाईको प्रशंसा चुलिदै गयो । स्कुलमा गणित र बिज्ञानका लागी एउटा राम्रो शिक्षक पाएका थिए विद्यार्थीले । यसै क्रममा स्कुलले वहाँलाई हाजीरी जवाफप्रतियोगिताको दस्ता तयार गर्ने जिम्मेवारी पनि सुम्पीयो । वहाकै अग्रसरतामा हाम्रो स्कुलको हरेक कक्षामा हाजीरी जवाफ प्रतियोगितामा भाग लिने टिमहरु तयार हुन थाले । यो त झन वहाको विषेश क्षमता देखाउन सक्ने मैदान थियो जसको वारेमा मैले माथिनै चकलेट जितेर हीरो बनेको प्रशङ्ग उल्लेख गरिसकेको छु । नभन्दै वहाँको जादुले कमालै देखायो त्यसबेला हाम्रो स्कुलमा । यस्तो तगडा टिम थियो त्यसबेला हाम्रो स्कुलमा हाजीरी जवाफ प्रतियोगिताको लागी कि हरेक जिल्ला स्तरिय प्रतियोगितामा प्रथम हुने । कहिल्यै दोस्रो भएको मलाई संझना छैन । वहाले छोडेर गएपछि पनि स्कुलमा अन्य शिक्षकहरुले त्यो उचाई लाई सधै कायम राख्नु भयो । कहिले कमजोर हुन दिनु भएन । धेरै वर्ष हाम्रो स्कुलले अन्य स्कुललाई पछाडि नै पारि रहयो । जसको श्रेय स्कुलमा सबै शिक्षकलाई गएता पनि त्यसको जग वहाले साह्रै बलियो बनाउनु भएको थियो । यसमा म लगाएत सबैको एक मत हुनु पर्छ जस्तो लाग्छ ।
तर अफसोच आज हामी त्यस्तो होनहार शिक्षकको बारेमा साह्रै नराम्रो समाचार सुनिरहेको थियौ । केहि बेरमा हेड सर श्री डिल्ली प्र.भट्टराईले हामी सबैलाई चौरमा लाईन लगाएर एउटा दुखद घटनाको जानकारी दिनुभयो । जसको सारंस थियो ‘ धार्मिक यात्राको क्रममा आसामको ब्रहम पुत्र नदीमा नुहाउदा अचानक पानीको छालले बगाएर हाम्रो प्रिय शिक्षक अच्यूत सापकोटा को दुखद निधन भयो ।’
अच्यूत सर , तपाईलाई हाम्रो स्कुलले सधै संझीरहने छ । हामी सबैको तर्फबाट हार्दिक श्रद्धाञ्जली ।