वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौं

पूर्व विद्यार्थी समाज, वीरेन्द्र मा. वि. चन्द्रगढी, झापा

मनै त हो ! - गणेश लम्साल (२०४१ एस. एल. सी. ब्याच)

Published on: Bhadra 9 2081
Views
112
Share
मनै त हो ! -  गणेश लम्साल (२०४१ एस. एल. सी. ब्याच)

मनै त हो ! - गणेश लम्साल (२०४१ एस. एल. सी. ब्याच)

Published on: Bhadra 9 2081
Views
112
Share
मनै त हो ! -  गणेश लम्साल (२०४१ एस. एल. सी. ब्याच)
५ - ६ कक्षामा पढ्दा देखिको मात्रै स्कुले जीवन सम्झन्छु म। ३५- ३६ सालतिरको कुरा हुनु पर्छ ६ कक्षाको परिक्षाफल प्रकाशित भयो । अनेक सम्सयका साथ भिड छिचोलेर रिजल्ट हेरेको दुबै दाजुभाइ (म र पुरुसोतम) एक एक बिषय लागेर उत्तारित!! एक बिषयमा मात्र फेल भएर उत्तारित भइ पास भएको खबर लिएर घर जाने कि नजाने दोसांधमा थियौं हामी । गहन छलफल पछि निचोड निक्लियो: फेलै भाको त हैन नि! पास त पासै भा हो नि! पासै भएपछी त वुवाले पनि के नै गरि हाल्नु होला र लौ घरै जांउ भन्ने भयो। 

वुवाको अगाडि परेर बोल्न त के कपि किन्ने पैसा माग्न समेत आमाको च्यानल प्रयोग गर्नु पर्ने!! यस्तो वुवाको अगाडि हाम्रो प्रगती बिवरण- भयंकर डरको चपेटामा थियौँ हामी। जेनतेन सहास बटुलेर साँझतिर घर पुग्यौँ। पुसको महिना थियो सायद । वुवा आँगनमै टहलिदै हुनुहुँँदोरैछ । बा (हजुरबुवा) दलिनमा बसेर हुक्का तान्दै हुनुहुन्थ्यो । हामिलाइ देख्ने बित्तिकै एक्कासी रातो रातो आँखा पारेर भुइँको भाटो टिपि म तिर के तेर्स्याउनु भाथ्यो पछाडिवाट बाको ठूलो स्वर सुने मैले । पख!! नपिट तिनलाई !!! हाम्रो ज्यानमा ज्यान आयो । बुवा जतिनै अनुदार र भयंकर (त्यो बेला हामिलाइ लागेको) भएपनी 'बा' ले एकपटक यो गर वा त्यो नगर भने पछि बुवाले त्यसलाइ पालन गर्नुहुन्थ्यो। गजवको मर्यादा थियो त्यो । र सायद त्यही मर्यादा हाम्रो भविश्य बन्दै थियो । बा र बुवाले सिकाएको त्यही मर्यादालाइ हामी ६ सन्तानले आजपर्यन्त कायम गर्न सकेका छौ र गर्व पनि गर्छौं। खैर !! बुवालाइ हाम्रो रिजल्ट पहिलै थाहा भैसकेको रहेछ। 

पास त पासै भारछन नि!! किन कुट्छस त!! भो छोड्दे!! अर्को साल राम्रो गर्छन! बा को सपाट तर सहानुभुतिपुर्ण स्वर हाम्रालागी वाँसुरीको धुन बरावर थियो। कुट्नै पर्ने बुवाको मन त्यसै कुँडियो तर रिस मरेको कदापी थिएन। सशंकित त हामी थियौं नै! धेरैबेर एकै ठाउँ बस्ने बुवाको बानी यसै पनि छैन। त्यहामाथी हाम्रो कर्तुतले पुर्ण आवेगका साथ आंगनको एउटा कुनादेखी अर्को कुना गर्दै सोच्दै हुनुहुन्थ्यो । हामी बाघको मुखमा थियौँ । एक्कासी घोषणा आयो: आज रातभर गुँणे (म) र लट्याङ्ग्रो (भाइ) यहि दलिनको खाटमा सुत्छन, केही ओढ्ने ओछ्याउने देलिस !- आमातिर लक्षित थियो घोषणा । खाटमाथी तै एउटा दरि थियो। केटाकेटी मन - सोच्दै थियौँ दरि भएपछी रात त कसो नकट्ला । यो नारकिय सजायमा बा को विचार / प्रदिवाद केही आएन जुन हामी दुई नातिका लागि अनपेक्षित थियो। दुबै दाजुहरु बढो टिठ लाग्दो अनुहारले हामी तिर हेर्दै भित्र छिरेको किन बिर्सन्थें र? सक्ने भए हामी दुइलाइ जुरुक्कै बोकेर भित्र लान आतुर भएको महसुस गरेको हुँँ मैले।

 हामी त्यो सांझ घर भित्र छिर्न पाएनौँ । भोक लागेकै थियो । बा बाहेक बुवाको कुरो काट्ने हिम्मत कसैमा थिएन। हामी विकल्पहिन थियौँ । यसै पनि इख पलाउन थालेको थियो सायद । मनमनै नाङ्गो खाटमा सुतेर देखाइदिने इच्छा जागृत हुँदै थियो। आमाले दाल भात बाहिरै ल्याइदिनु भयो। धन्न ! अन्नमा चै रोकटोक भएनछ। आमाको बिद्रोहको डर सायद बुवामा थियो कि!! तै खान त पाइयो। हामिले कपाकप खायौँ। अब पुसको त्यो पनि तराइको जाडोमा पूरा रात बिना ओढने ओछ्याउने गुजार्नुपर्ने चुनौती थियो हाम्रा सामु। घरका सबै सदस्य सुत्न गए भित्र । हामी बाहिर दलिनमा ! भाइले जुक्ति झिक्यो मानौ जुक्तिको उ विज्ञ नै थियो। हेर यो दरी ओछ्यायो भने ओढ्ने केही हुदैन झन जाडो हुन्छ, बरु माथिबाट यो दरी ओढौं त्यसो भएपछी हावा छिर्न कम हुन्छ अनि जाडो पनि कम! के भन्छस? मलाइ पनि हो जस्तो लाग्यो। दरि ओढेर सुत्ने कोसिस गर्यौं। निन्द्रा लागे पो!! त्यहि माथी रोएको मन!! चिसो काठ र चिसो वायुले गर्दा दश बजे तिरै हाम्रा दाँत बज्न थाले। 

त्यतिकैमा भित्रवाट सर्याक-सुरुक आवाज आयो। कान ठाडा भए। खरल्याक्क ढोकाको आग्लो खुल्यो। आमाको अनुहार देख्ने बित्तिकै मन भक्कनिएर आएछ। हामी दुबै बर्लक बर्लक आँसु झार्दै रुन पो थालेछौँ आवाज ननिकाली कनै। बुवा उठ्ने डरले खुलेर रुन नसकेको अवस्था बढो बिचित्र तथा कारुणिक थियो। आमा एउटा सिरक र डस्ना लिएर आउनु भएछ। आमाको मन त्यसै के मान्थ्यो! घुँक्क-घुँक्क गर्दै गुटिमुटि भएर सुत्यौँ त्यो रात। आमा भन्नु हुन्थ्यो हामी सुति सकेपछि बुवाले भित्रबाट राढी ल्याएर माथिबाट खापिदिनु भाको थियो रे। कठोर देखिने बुवाहरुले छोराछोरी प्रतिको प्रेम लुकाउँदा हुन सायद। 

त्यही घटना हामी दुई भाइको जीवनको टर्निङ्-पोइन्ट थियो। बा को मौनता र बुवाको सजायले हामिलाइ दिशा दिएको थियो। ठुल्दाइको भाइहरु प्रतिको अगाध प्रेम अनि माइलो दाइको पढाइ प्रतिको लगन हाम्रा लागि थप प्रेरणा थियो। अंग्रेजी बिषयको हाम्रो नालायकी सदाको लागि निमिट्यान्न पार्ने भित्रि प्रण गर्यौँ हामिले। तर सहज थिएन यात्रा। क्लासै छोडेर सिनेमा हेर्न जाने लत छुटाउनु थियो। सिनेमा हेरेर कहानी सुनाउने को संगत छुटाउनु थियो। स्कुलको छुट्टी पश्चात् घर पुगेर किताब फाले पछि पौडी खेल्न देउनियां खोला धाउन बन्द गर्नु थियो।गुच्चा खाप खेल्न छोड्नु थियो। छिमेकिका बारिका फलफुल चोर्न छोड्नु थियो। पसलेका प्याजी त कति चोरियो कति!! र सबै भन्दा माथी लुकि लुकि तास खेल्ने बानी बन्द गर्नु थियो। कसरी सम्भव थियो एकै चोटि यो सब छोड्न?? ग्यांङ्नै थियो यो सबै कर्तुतका लागि। उनिहरु सँगको नाता तोडेर फुत्त निक्लन यो चन्चले बेलाको उमेर किमार्थ तयार थिएन। 

तर दलिनको बासले हामिलाइ दिएको शिक्षा सर्वोपरी थियो । सबै लतलाइ हामिले क्रमश: छोड्यौँ। चाड्वाड्का बेला भेला भइ हामी दाजुभाइ तास खेल्ने क्रममा आजकल बुवा आएर यो फाल त्यो होइन भन्दै गर्दा बुवाको लक्ष छोराहरुले पूरा गरिदिएछन भने जस्तो भान हुन्छ। सन्तोषम परमम सुखम!! दाजुभाइ भेला हुँँदा गावैँ थर्किने गरी हाँस्छौँ हामी। बुवा- आमा झन के कम!! मनै त हो साच्चिकै मज्जाले हाँस्छौँ हामी । 

वीरेन्द्र माद्यमिक विद्यालय गतिलै स्कुलमा चिनिन्छ पुर्वमा। यसको साख अति उच्च थियो हामी पढ्दा। गुरुहरु असल हुनुहुन्थ्यो र आजपनि हुनुहुन्छ। बुवाको पढाइ प्रतिको निष्ठा, ठुल्दाजुको सबै खाले सपोर्ट, अलिकती हाम्रो लगन, गुरुको अलिकती प्रयास र माल्दाइको हाम्रो पढाइ प्रतिको जिम्मेवारिले सात कक्षाको नतिजा राम्रै आयो। औसत विद्यार्थी भएपछि पछाडि फर्कनु परेन। नजिकै स्कुल थियो र हामी सबैले पढ्ने अवसर पाएका थिर्यौँ। वास्तवमै हामिले मेहनत मात्र गर्नुपर्ने थियो। आजपर्यन्त कयौं बालबालिका शिक्षावाट वन्चित छन नेपालमा । जस्ले अवसर पाएका छन तिनले मेहनत गर्नुपर्ने ठान्छु म पढाइमा। शिक्षाले बाहेक थोरै चिजले मात्र अवसर सृजना  गर्छन भन्ने लाग्दछ जिवनमा!! 

एस. एल. सी. पास गरेर विज्ञान पढन हिँड्दै गर्दा बुवाले अनेक दुखका वावजुद ठूलो छाती बनाएर विदा गरेको सम्झँदा ठुलै काम गरिएछ जस्तो लागेकै हो । छोरा छोरिले पढ्नु पर्छ भन्ने वहाँँको उ बेला देखिकै चेत र सोही अनुरुपको हामी दाजुभाइ लगायत गाउँकै समकालिन बालबच्चा उपरको कडापनले हामी सबै समकालीन गाउँले बच्चाका लागि फलदाइ सावित भयो भन्न म धक मान्दिन। 

आज पनि कैयौं बालवालिका मैले पढेको यही स्कुलमा आ-आफ्नो भविष्यको निर्माण गर्दैछन। कैयौँ म जस्तै विद्यार्थीले यही स्कुलवाट पाएको शिक्षावाट आफ्नो भविष्य बनाएका छन। जुनसुकै प्रतिष्ठित पेशामा यहाँँवाट पास गरेका विद्यार्थी देख्ता आफ्नु स्कुल र त्यहाँका गुरुहरूप्रति गर्व महसुस हुन्छ। मनै त हो, मैले पढेको स्कुलमा अहिले पढिरहेका प्रत्येक विद्यार्थीले कम्तिमा पनि मैले पढेजती पढुन / पढ्न पाउन र मैले पाएजती औसत रोजगारिको अवसर पाउन। मनै त हो, कम्तिमा मेरो पालाको जस्तो शिक्षाको स्तर स्कुलले कायम राखोस। मनै त हो, अवसरवाट वञ्चित भएर कुनै नेपाली खाडी छिर्नु नपरोस, सबै सरोकारवालाहरु देश निर्माणमा जुटुन । पश्चिमको जस्तो सरकार, पश्चिमको जस्तो शिक्षा, पश्चिमको जस्तो कानुन, पश्चिमको जस्तो पुर्वाधारको विकाश, पश्चिमको जस्तो रोजगारिको ग्यारेन्टी, पश्चिमको जस्तो सामजिक सुरक्षा र स्वास्थोपचार र नेपालीको जस्तो मन यति भैदिए! मनै त हो, असम्भव के छ र ! 

Any question?


वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौं logo
Address
Kathmandu-7, Chabahil, Nepal
Phone
+977 9851009148
Email
alumnibirendra@gmail.com

About us

वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौँ वीरेन्द्र माध्यमिक विद्यालय, चन्द्रगढी, झापाका पूर्व विद्यार्थीहरुको संगठन हो । पूर्व विद्यार्थीहरु बीच समन्वय गरी एकता कायम गर्नु, एक आपसमा परस्पर हित प्रवद्र्धन गर्नु र वीरेन्द्र माविको व्यवस्थापन सँग सहकार्य गरी विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय सुधारमा सहयोग गर्नु यस एलुम्नाईका उद्देश्यहरु रहेका छन् । यी उद्देश्यहरु पुरा गर्न संस्थाले विविध कार्यहरु गर्दै आएको छ । वि सं २०५७ सालमा स्थापित यो संस्थाले २०७२ सालमा नेपाल सरकारको ऐन बमोजिम औपचारिक मान्यता पाएको छ । परिणामस्वरुप स्थापनाकालदेखि समय समयमा गर्दै आएका कार्यक्रमहरुले पछिल्लो समयमा स्थायित्व पाउँदै गएका छन् । साथै थप नयाँ कार्यक्रमहरुले पनि संस्थाभित्र प्रवेश पाएका छन् ।
Follow us

Subscribe us

Please enter your email address to get latest updates on our activities.


© 2024 | वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौं | All rights reserved
Powered by OIT